
तानसेन। पाल्पा सदरमुकाम तानसेनमा रहेको ऐतिहासिक अमर नारायण मन्दिरको जीर्णोद्वारको कार्य सुरु भएको छ । अमरसिंह थापाले दुई सय १६ वर्ष पहिले निर्माण ग गर्न लगाएको अमरनारायण मन्दिरको दोस्रो तल्लाको छानो खसेको सात महिनापछि जीर्णोद्वारको काम सुरु भएको हो ।
तानसेन नगरपालिकाको एक करोड पाँच लाख २९ हजार रुपियाँ लागतमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको तानसेन नगरपालिका वडा नं. २ का अध्यक्ष महेश्वर श्रेष्ठले जानकारी दिए।
जीर्णोद्धार कार्यमा मन्दिरको छानो छाउने, मन्दिर वरपर ढुङ्गा छाप्ने र पिलरको छाना छाउने काम पनि गरिने भएको हो । गत वर्षको फागुन २५ गते पानी परेको अवस्थामा जीर्ण मन्दिरको दोस्रो तल्लाको छानो एक्कासि खसेको थियो । मर्मत तथा जीर्णोद्धार कार्य आगामी २०८१ असार ३२ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
मन्दिरको ऐतिहासिक संरचना नबिग्रने गरी जीर्णोद्धारको कार्य गरिने तानसेन नगरपालिकाले जनाएको छ । अमरनारायण मन्दिर वि.स. १८६३ सालमा राष्ट्रिय विभूति अमरसिंह थापाले बनाउन लगाएका थिए ।