![](https://www.nayadhar.com/wp-content/uploads/2022/03/jorte.jpg)
तानसेन। तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक निर्माणका लागि दैनिक १० घण्टा सडक बन्द हुने भएको हो ।
तानसेन-रिडी-तम्घास सडक खण्ड अन्तर्गत रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्नका लागि काम थालिएको हुँदा पुसको ७ गतेसम्म दैनिक सडक बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए।
सडक चौडा गर्न एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइने तथा अन्य सवारीलाई बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ७ बजेदेखि १० बजेसम्म रुर्ण रुपमा आवागमन बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सो सडक खण्डको माल्मुल क्षेत्रमा करिब दुई किलोमिटर साँघुरो, अप्ठ्यारो बाटोलाई फराकिलो बनाउने योजनाअनुरुप कामको थालनी गरिएको हो ।
सो क्षेत्रमा यसअघि पनि सडक चौडा गर्नका लागि पटक पटक सवारी रोकेरै काम गरेपनि कामले पूर्ण नपाउँदा पुनः सवारी रोकेर काम गर्न थालिएको हो ।
यता बारम्बार सवारी रोकेर काम गर्ने भनिएपनि कामले गति नलिदा सो सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरुले भने यात्रामा कठिनाइ र सास्ती खेप्ने परेको गुनासो गरेका छन् ।