
बुटवल।लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा १ सय ६५ जनाले ज्यान गुमाएका छन् । १ सय ७५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । १ सय ९ सामान्य घाइते भएका छन् ।
लुम्बिनीका १२ जिल्लामा भएका सडक दुर्घटनामा रूपन्देही अगाडि छ । रूपन्देहीमा गत चार महिनामा घटेका १ सय १४ सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । त्यसैगरी ६१ जना गम्भीर र १९ जना सामान्य घाइते भएका छन् । त्यस्तै, कपिलवस्तुमा यो अवधिमा भएका ६० वटा सवारी दुर्घटनामा २७ जनाको मृत्यु, ४४ जना गम्भीर र १२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
सो अवधिमा बाँकेमा ५८ वटा सवारी दुर्घटना भएकामा २२ जनाको मृत्यु भएको छ । २८ जना मानिस गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दाङमा ५२ वटा सवारी दुर्घटना भएकामा १५ जनाको मृत्यु भएको छ । ३५ जना गम्भीर घाइते भएका छन् । नवलपरासी पश्चिममा २७ दुर्घटना भएकामा १२ जनाले ज्यान गुमाएका छन् । १४ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बर्दियामा २६ वटा सवारी दुर्घटना भएकामा ९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाइते भएका छन् ।
पाल्पामा २१ दुर्घटना भएकामा १२ जनाले ज्यान गुमाएका छन् भने १४ जना गम्भीर घाइते भएको देखिएको छ । प्यूठानमा १६ वटा दुर्घटना भएकामा १२ जनाले ज्यान गुमाएका छन् । ३४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अर्घाखाँचीमा चार महिनामा १० वटा दुर्घटना भएकामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रोल्पामा ८ वटा सवारी दुर्घटना भएकामा पाँच जनाको मृत्यु भएको छ । ९ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीमा ३ वटा दुर्घटना भएकामा ३ जनाको मृत्यु भएको छ भने पूर्वी रुकुममा ३ वटा दुर्घटना भएकामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । विशेष गरेर तराई क्षेत्रमा दुईपांग्रे मोटरसाइकलबाट धेरै दुर्घटना भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
लुम्बिनी प्रदेशमा कुल ३ सय ९८ दुर्घटना भएकामा दुईपांग्रे मोटरसाइकल मात्र २ सय ४० रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी निरीक्षक अमृत भण्डारीले बताए । दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरबाही, सडकको दुरावस्था, तीव्र गति, ट्राफिक लेनको प्रयोग नगर्दा दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना न्यूनीकरण गर्न विभिन्न जिल्लामा विभिन्न खालका सवारीसाधनका चालक तथा सहचालकलाई ट्राफिक नियमका बारेमा प्रशिक्षणसमेत दिँदै आएको भण्डारीले बताए ।
मंसिर महिनाको १९ दिनमा प्रदेशमा ३१ दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने २६ जना गम्भीर घाइते छन् । तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर र ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ ।
-इकान्तिपुरबाट