रामपुर नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारी

तानसेन। पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागि योजना तयारी गोष्ठी सोमबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । गोष्ठीले रामपुर नगरपालिकालाई २०८० बैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्चितताघोषणा गर्ने निर्णय गरेको छ ।

नगर भित्रका सवै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न सबै वडामा माघ महिनादेखि चैत्र महिना भित्र घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँचसम्म पु¥याउने निर्णय बैठककले गरेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको गोष्ठीमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सबै सचेत भएर लाग्नु पर्ने बताए ।

नगर प्रमुख थापाले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सबै क्षेत्र कमजोर हुने बताए । राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताउँदै नगर प्रमुख थापाले रामपुर नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागि विभिन्न योजनासहित बजेट विनियोजन गर्ने बताए। गुणस्तरिय सेवा प्रदानका लागि सबै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न थापाले आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरीले स्थानीय तहले स्वास्थ्यलाई विकासको मुद्दा बनाउनु पर्ने बताए । हरेक पालिका र वडाले स्वास्थ्यलाई समेट्ने गरि कार्यक्रम निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यापानेले खोपको अवस्था , खोपको महत्व, पूर्ण खोप कार्यक्रमको उद्देश्य , पूर्ण खोप सुनिश्चितता घोषणाको प्रक्रियालगायतका विषयमा सहजिकरण गरेका थिए।

रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुंगानाले नगरपालिका भित्र खोपको अवस्थाको बारेमा जानकारी गराउदै अभिलेखमा खोपको पहुँच कम देखिए पनि सवैले खोप पाएको बताए ।

पछिल्लो ३ वर्षको अवधिमा नगरका ८० प्रतिशत जनता खोपको पहुँचमा रहेको तथ्याङ्क स्वास्थ्य शाखासंग रहेको र बाँकी २० प्रतिशत पनि खोपको पहुँचमा रहेको तर तथ्याङमा अभिलेख नराखेका कारण कम प्रतिशत देखिएको उनले बताए ।

रामपुर नगरपालिकाको सभाहलमा भएको गोष्ठिमा नगर भित्रका वडा अध्यक्ष , कार्यपालिका सदस्य , स्वास्थ्य शाखाका कर्मचारी,स्वास्थ्य स्वयम सेविकालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया