
तानसेन। पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या बढेको छ । डेढ दशकदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनबासी पछिल्लो केही वर्षयता खानेपानीको समस्याबाट थप पीडित बन्दै गएका हुन् ।
पानीको स्रोत थप नभएपछि धारामा पानी आउने अवधि पहिलेको तुलनामा बढ्दै गएको हुँदा समस्या थपिएको तानसेनबासीको गुनासो छ । केही वर्षअघिसम्म दुई। तीन दिन बिराएर धारामा पानी आउने भएपनि पछिल्लो समय एक सातामा एक पटकका दरले समेत पानी आउन छाडेपछि समस्या बढेको स्थानीयको भनाई छ।
कालीगण्डकी खानेपानी योजना सम्पन्न हुन ढिलाई हुनु, भुल्के र सिस्नेको मुल सुक्दै जानु तथा अव्यवस्थित वितरण प्रणालीले तानसेनबासी खानेपानीको समस्याबाट पीडित बनेका हुन् ।
उपभोक्ता समितिले समेत पारदर्शी र प्रभावकारी रुपमा काम गर्न नसकेको उपभोक्ताको गुनासो छ । खानेपानी उपभोक्ता समितिको पदावधि सकिएको तीन वर्ष बितिसके पनि नयाँ समिति गठन हुन नसक्दा र समितिले प्रभावकारी काम गर्न नसक्दा तानसेनबासीले खानेपानीको समस्या भोग्नुपरेको उपभोक्ताको भनाई छ।
तानसेनमा चार हजार बढी धारा वितरण भइसकेको र त्यसका लागि दैनिक ३० लाख लिटर खानेपानीको आवश्यकता छ । तर दैनिक छ।सात लाख लिटर खानेपानी मुल ट्याङ्कीमा खस्ने गरेको उपभोक्ता समितिले जनाएको छ ।
खानेपानीको माग धेरै भए पनि आपूर्ति कम हुँदा खानेपानी वितरण गर्न समस्या भएको उपभोक्ता समितिका अध्यक्ष पुरनमान बज्राचार्यले बताए। पुरानो पाइपलाइन बिग्रदा र पम्प बिग्रदा झनै समस्या हुने गरेको अध्यक्ष बज्राचार्यको भनाई छ।
समयमा पानी नआउँदा खासगरी डेरा गरेर बस्ने कर्मचारी र विद्यर्थीले आफूहरु समस्यामा परेको गुनासो गरेका छन् ।