ठिमुरेका जेष्ठ नागरिक र असहाय परिवारलाई सम्मान

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ६ ठिमुरेका जेष्ठ नागरिक, एकल महिला तथा असहाय नागरिकलाई सम्मान गरिएको छ । जाडो महिना सुरु भएसंगै वडा कार्यालयले ३० जना यस्ता नागरिकलाई न्यायो कपडा (ब्लाङ्केट) प्रदान गरि सम्मान गरेको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष ०७९।०८० को विनियोजित बजेटको एक लाख रकमबाट न्यानो ब्लाङ्केटसहित सम्मान गरेको जनाएको छ । न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले निर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गर्न स्थानीय स्तरमा पुगेको बताए ।

उनले वडा कार्यालयबाट सुरु भएको लक्षित वर्गको सम्मानको प्रशंसा गर्दै निरन्तरता र अन्य वडाले पनि यसको सिको गर्नुपर्ने बताए । अध्यक्ष कार्कीले पालिका स्तरबाट नागरिकको स्वास्थ्य, पोषण र जीवनस्तरका विषयमा पनि चासो दिएर वडागत रुपमा पुगेर समस्या समाधानको पहल गरेको बताए ।

“हामीले समृद्ध रिब्दीकोट भन्ने नारा बोकेका छौं तर,समृद्ध रिब्दीकोटका लागि नागरिक पनि खुसी हुनु पर्ने हुँदा समुदायमा देखिएका समस्या समाधान गर्न नजिकको सरकार स्थानीय सरकार भएको हुँदा त्यसका लागि आफू अहोरात्र खट्ने छौं ।”अध्यक्ष कार्कीले भने ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले वडाले सुरु गरेको कार्यक्रमलाई आगामी दिनमा थप गरेर अघि बढाइने बताइन् । उनले नागरिकको खुस दुःखमा आफूहरु सधैं साथमा रहेको बताइन् ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले सरकारको अनुभूति गर्नेगरी वडागत रुपमा सम्मान र सहयोग वितरण गरिएको बताए । उनले वडागत रुपमा भएको काम मात्र नभएर मागका आधारमा नागरिकको सेवाका लागि गाउँपालिकाको प्रशासनले काम गर्ने पनि बताए ।

वडा नं. ६ का अध्यक्ष प्रकाश रायमाझीले नागरिकको सेवाका लागि वडाले विशेष पहल गर्ने बताउँदै आगामी महिनादेखि वडामै सामाजिक सुरक्षा भत्ता वितरणका लागि पहल गरिएको बताए ।

स्थानीय सरकारले गाउँमै पुगेर न्यानो कपडा वितरण गरेसंगै स्थानीयले जाडोको समयमा सहज जीवनयापन गर्न राहत मिलेको हुँदा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा रिब्दीकोट गाउँकार्यपालिकका सदस्य सुनील बस्याल, नेपाली काँग्रेसका नेता झपेन्द्र पचभैंया, वडाका निर्वाचित जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन वडा सचिव विष्णु बहादुर थापाले गरेका थिए ।

हेर्नुहाेस् सम्मानका तस्वीरहरूः

तपाईको प्रतिक्रिया