अर्गलीमा ‘आलु पर्वद्धन महोत्सव’ सम्पन्न

तानसेन। पाल्पाको अर्गलीमा आयोजित आलु पर्वद्धन महोत्सव सम्पन्न भएको छ । ग्रामीण आर्थिक विकास संघ(रेडा) पाल्पाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत आयोजना गरेको महोसव सम्पन्न गरेको हो ।

तानसेन नगरपालिका वडा नं. १४ को वडा कार्यालयको समन्वयमा सम्पन्न महोत्सवमा आलुबाट बनेका परिकारको पर्दशनी राखिएको थियो । महोत्सवको समुद्घाटन गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले अर्गलीको माटो र वातावरण आलुका लागि उत्तम रहेको हुँदा आलुमार्फत अर्गली र सिंगो नगरपालिकासंगै जिल्लाको पहिचान बनाउन पहल गर्नुपर्ने बताए।

पछिल्लो समय आलु पकेट क्षेत्रका रुपमा स्थापित अर्गलीलका लागि चिसियान केन्द्र निर्माण गरी बेमौसमि रुपमा पनि आलु बिक्री गर्ने प्रबन्ध मिलाउन नगरपालिकाले पहल गर्ने प्रमुख श्रेष्ठले बताए ।

तानसेन नगरपालिकाको अधिकाश भू-भाग ग्रामीण भेगमा अवस्थित रहेको बताउँदै नगर सरकारले कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेको नगर प्रमुख श्रेष्ठले बताए ।

यस्तै नगर उप-प्रमुख प्रतिक्षा सिङ्जालीले तानसेन नगरपालिकालाई कृषि, पर्यटन र सास्कृतिक शहरका रुपमा विकास गरी स्वदेशमै रोजगारीको सृजना गर्नका लागि पहल गर्ने बताइन् । उनले पछिल्लो समय अर्गलीलाई आलु पकेट क्षेत्र विस्तार गरे जस्तै अन्य स्थानमा पनि माटो सुहाउदो खेती र पशुपलान गरी आवश्यक बजारीकरणको व्यवस्थापन गरी विदेशिएका नागरिकलाई स्वदेशमा फर्काउन पहल गर्ने  बताइन् ।

कृषि पशुपालनसंगै पर्यटनकोसमेत प्रचुर सम्भावन रहेको हुँदा स्थानीय कला संस्कृतिको प्रर्वद्धनसंगै जातजाति,भाषाभाषी र सबै समुदायको विकसका लागि पहल गर्ने उप-प्रमुख सिंजालीले बताइन् ।

यस्तै ग्रामीण आर्थिक विकास संघ (रेडा)का कार्यकारी निदेशक लिलाबहादुर कार्कीले तानसेन नगरपालिकासंग सुरु गरेको आलु पकेट कार्यक्रम सफल भएर महोत्सव गर्न सफल भएको बताए ।

उनले रेडाले कृषि पशुपालनलगायतका उद्यमशीलतका कार्यक्रमबाट नगरभित्र मात्रै तीन हजार बढी घर परिवार लाभान्वित भएको जानकारी दिँदै पछिल्लो समय उत्पादनमा वृद्धि भएको हुँदा त्यसको बजारीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्नपर्ने बताए ।

हाल रेडाले आधुनिक तरिका र प्रविधिको प्रयोगबाट उत्पादन गर्दा बीउ, सीप र प्राविधिक कमैचारीको परिचालन गरेको जनाउँदै निर्देशक कार्कीले प्राङ्गारिक खेतीमा पछि जोड दिएको बताए । रेडाले तानसेन नगरपालिकासंगको साझेदारीमा कोभिड १९ प्रतिकार्य एवं हरित जिविकोपार्जन कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमा बेरोजगार रहेका युवालाई एकीृकत गरी बिना धितो ऋण प्रवाह समेत गर्ने व्यवस्था गरेको निर्देशक कार्कीले बताए ।

महोत्सवमा आलुका विभिन्न परिकारहरूको प्रदर्शनी गरिएको थियो । आलुबाट बनेका पाल्पाली चुकाउनी,आलुको खिर,आलुको अचार, आलुको पकौडा, आलु चिप्स, पिरो आलुलगायतका परिकार महोत्सवका स्टलमा राखिएको थियो । यस्तै अन्य कृषि उपज, र स्थानीय समूहहरुबाट मौलिक कला संस्कृतिको प्रस्तुती गरिएको थियो ।

महोत्सवमा समाजसेवी दुर्गादत्त रेग्मी, रिब्दीकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष, चिरञ्जीवी पोखरेल, तानसेन नगरपालिकाका प्रवक्ता यादब सिंह कार्की, जिल्ला समन्वय समितिकी सदस्य बसन्ता ज्ञवाली, कृषककोतर्फबाट माेतीलाल न्यौपाने, राजनीतिक दलका प्रतिनिधिहरुलगायतले महोत्सवको सफलताको शुभकामना दिदै आगामी वर्षमा पनि यस्ता महोत्सव गर्न सुझाव दिएका थिए ।

तानसेन नगरपालिका वडा न १४ का अध्यक्ष शोभाखर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको महोत्सवमा स्थानीय किसानले उत्पादन गरेको आलुको परिकार चाख्न र आलु खरिद गर्नका लागि भीड नै लागेको थियो ।

स्थानीय स्तरमै आयोजना गरिएको महोत्सवले गाउँमा उत्पादित आलुको बजारीकरणमा टेवा पुग्ने विश्वास किसानहरुले गरेका छन् ।

सो अवसरमा विगत दुईवर्षदेखि रेडाले सुरु गरेको आलु पकेट क्षेत्र निर्माणका क्रममा सहयोग पर्याउने कृषक समूह र कृषकहरुलाई सम्मानसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया