काठमाडाैं। प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा(२) बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हन्।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न सफल भए। प्रधानमन्त्रीमा ‘प्रचण्ड’ नियुक्ति भएसँगै विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ ।
पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन् ।
यस्ताे छ ‘प्रचण्ड’ काे राजनीतिक संसदीय यात्राः
विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए । उनीले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आएका छन्।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।
उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका ‘प्रचण्ड’ २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहे ।
नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए। विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरे ।उनले एमपीएसम्मको अध्ययन गरे।
नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरे। वि.सं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उनेले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेका थिए । हाल उनी आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन।
विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भयाे। उनका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ ।
‘प्रचण्ड’ ले नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका ‘प्रचण्ड’ले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए ।
उनले २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । यस्तै विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।
विसं २०४१ मा नेकपा (मशाल)को पाँचाै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बने ।
यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष बने ।
विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भए ।
विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बनेका दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भएका ‘प्रचण्ड’ २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए ।
यस्तै उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन् ।
वि.स. २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित ‘प्रचण्ड’ २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भए ।
संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन । विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्याे ।
यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी भएका ‘प्रचण्ड’ सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका हुन्। उनले भाेलि सपथ लिने बताइएकाे छ ।