काठमाडौं। बिहान-बिहान दौडिएकै छ, दिनदिनै जिम धाएकै छ, छाकैपिच्छे गाँस घटाएकै छ । तैपनि मोटोपन घट्दैन । किन ?
मोटोपन अहिले धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । अनियमित खानपान र ऐश-आरामको जीवनशैलीले गर्दा धेरैको पेट पुट्ट निस्कन थालेको छ । यस्तो ज्यान असुहाउँदिलो हुने मात्र होइन, रोगको भण्डार पनि हुने जोखिम छ ।
मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगदेखि हृदयघातसम्मको भय बढाइदिएको छ । त्यसैले मान्छेहरु मोटोपन घटाउन आफ्नो खानामा कटौती गरिरहेका छन्, बिहान दौडिरहेका छन् । यद्यपि कतिपयको मोटोपन घटेको छैन, जस्ताको तस्तै छ । किन यस्तो हुन्छ ?
‘खाना नखाँदैमा, जिम धाउँदैमा मोटोपन नियन्त्रण हुन्छ भन्ने छैन,’ पोषणविद् डा. प्रणिती शाह भन्छिन्, ‘किनभने मोटोपन हुनुमा अरु थुप्रै कारण हुन सक्छन् ।’



