प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।

कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्ने ब्यवस्था छ । सोही ब्यवस्था बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन्।

प्रधानमन्त्रीले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी एवं स्वतन्त्र सांसदहरुले  समर्थन गरेका थिए।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १ सय ६९ सांसदको समर्थन पाउनुभएको थियो । विश्वासको मत लिदा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत हुनुपर्ने ब्यवस्था छ ।

तपाईको प्रतिक्रिया