
तानसेन। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुईपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र सम्बन्धी सेवा सञ्चालन सुरु गरेको छ । लुम्बिनी प्रदेशको तराईका जिल्लामा मात्र सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र पहाडी जिल्ला पाल्पामा पहिलो पटक काम सुरु भएको हो ।
लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले सवारीचालक परीक्षण केन्द्र, तानसेन नगरपालिका–७, ठाँटीमा सेवा सुरु भएको घोषणा गेरेकी हुन् ।
सेवा सुरु गर्दै मन्त्री ढेंगाले पहाडी जिल्लामा पहिलो पटक सुरु भएको सेवाले जनतालाई सहजता ल्याउने प्रयास गरिएको बताइन् । उनले सेवालाई सहज ढंगबाट प्रवाह गर्नका लागि कार्यालयका कर्मचारी चनाखो भएर काम गर्नुपर्ने पनि बताइन् ।
जनताले सेवा सुविधा पाउने गरी सिद्धार्थ राजमार्गको बाँसटारी नजिकै सुरु भएको सवारीचालक अनुमतिपत्रका सबै काम हुनेछ । यातायात व्यवस्था सेवा कार्यालय सिद्धार्थ राजमार्गको वर्तुङमा संचालनमा छ ।
सेवा कर्याालय अन्तर्गत रहने सवारी चालक अनुमति पत्र केन्द्र निर्माण भएसगै पाल्पालगायत पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र गण्डकी प्रदेशको स्याङजाका सवारीधनीले फाइदा लिने मन्त्रालयका सचिव दीपक नेपालले बताए।
साना सवारी साधनको लागि निर्माण हुने सवारीचालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुवात भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतको काम हुनेछ ।
तीन करोड ५० बजेट आवश्यक भए पनि यसवर्ष १ करोड बजेट रहेको छ । हालका लागि शुभारम्भ भएपनि निरन्तर सेवा सुचारु गर्नका लागि आवश्यक पूर्वाधार नबनेको हुँदा सेवा पूर्ण रुपमा संचालनमा अाउन अझै केही समय लाग्ने देखिन्छ।