दुई बाहेक सबै उपस्थित सांसदले दिए विश्वासकाे मत

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका  छन्। प्रतिनिधि सभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा उनले  पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो।

बैठकमा पाँच जना सांसद अनुपस्थित थियाे ।  बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए। सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात बारे जानकारी दिए।

सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित थिए। यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा  हुँदा मतदान गर्न पाएनन्। यस्तै  फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित थिए।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer