पाल्पामा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

पाल्पा। श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था चुनौती र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा सोमबार तानसेनमा सम्पन्न भएको हो ।

सो अवसरमा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले देशभरका पत्रकार तथा अन्य सरोकारवालासँगको सुझावपछि पत्रकारहरूको नयाँ पारिश्रमिक निर्धारण गरिने बताइन्। उनले पत्रकारहरूको वर्गीकरण गरेर मात्रै पारिश्रमिकको आधार तय गर्दा न्योचित हुने बताइन् ।

अध्यक्ष खड्काले हाल समितिको क्षेत्राधिकार सीमित रहेकाले पहिले समितिको क्षेत्राधिकारलाई फराकिलो बनाउनेबारे समितिले सरकारलाई सुझाव दिएको बताइन् । उनले पत्रकारहरूको पारिश्रमिकको विषयमा रहेका विवाद तथा समस्या समाधान गर्न सक्ने गरी समितिले काम गर्न चाहेको बताइन् ।

संचार माध्यम् तथा सरकारको सबै अवस्था हेरेर समितिले न्युनतम पारिश्रमिक तय गर्ने उनको भनाइ थियो ।

यसैबीच सो कार्यक्रमा पाल्पाका पत्रकारहरूले पत्रकारको न्युतम तलब हरेक दुई वर्षमा बढाउनुपर्ने, पत्रकारलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका पूर्व सभापति झपेन्द्र गहिरेले पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयनमा पत्रकारहरू सहयोगी बन्नुपर्नेमा बताए ।

यस्तै सल्लाहकार कमलराज तिमिल्सिना, माधव अर्याल, जगदीश भट्टराई, देव पचभैँया, प्रकाश नेपाल, किरण कौशल, राजेन्द्र लिगललगायतले समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सके अधिकांश समस्या समाधान हुने बताए।

संचारमाध्यम्लाई बलियो बनाउन समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्नुपर्ने र त्यसबाट मात्रै पत्रकारहरूको पारिश्रमिक सरकारले तोकेअनुसारको दिन सकिने पत्रकारहरूको सुझाव थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया