तानसेन। तिनाउ गाउँपालिका वडा नम्वर ६ मा रहेको डुम्रे दुग्ध कृषि सहकारी सस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। भवनको लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्तिमगर बसन्तले एक कार्यक्रम विच उद्घाटन गरेका हुन् ।

कृषकले उत्पादन गरेको दुध तथा कृषि उपजलाई सहज रुपमा बजारसम्म पु¥याउने उद्देश्य स्वरुप लुम्बिनी प्रदेश सरकारको ५५ लाख सहयोग प्राप्त भई बाकी कृषि सहकारी सस्था आफैले बेहोर्ने गरी कुल ९० लाख उन्पचास हजार चार सय सत्र रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

 

भवन उद्घाटन गर्दै प्रदेश सांसद घर्तिले कृषि सहकारीको माध्यमबाट गाउँको समृद्धि र विकासमा टेवा पुग्ने बताए। उनले प्रदेश सरकारले दिएको अनुदानलाई छोटो समयमै उपयोग गरी कृषि सहकारीको भवन बनाउन सफल भएकोमा समितिलाई धन्यवाद दिदैँ  दुधको बजार र मूल्यमा आएको समस्यालाई प्रदेश सरकारले नीति बनाएर समाधान गर्ने बताए ।

 

उनले डुम्रे दुग्ध कृषि सहकारी सस्था नमूना सहकारीको रुपमा अगाडी बढेकोमा धन्यवाद दिए । सासंद घर्तिले किसानमैत्री कानून कार्यान्वयनका लागि सरल र सहज कार्यविधि बनाउनुपर्ने बताउदैँ सहकारीले राम्रो काम गरे सरकारी निकायले उचित सम्बोधन गर्ने पनि बताए ।

सो अवसरमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि क्षेत्रको विकास र विस्तारमा डुम्रे दुग्ध कृषि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए। पालिकालेसमेत त्यसमा सक्रिय पूर्वक कार्यक्रम अगाडि बढाएको बताउदै कृषकहरुका माग र समस्यालाई गाउँपालिकाले पनि सम्बोधन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

सहकारीका अध्यक्ष दुर्गाबहादुर खाँण ठकुरीले २०५१ सालमा स्थापना भई दुध खरिद बिक्रीको व्यवसाय सुरु गरेको सहकारीमा अहिले एक हजार जना किसान आवद्ध भई दुध उत्पादन गरिरहेको जानकारी दिए । अध्यक्ष खाँणले सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैङ्क भएको हुँदा जनतालाई समृद्धिको यात्रामा अगाडी बढाउन सहकारीले भूमिका खेलेको बताए ।

डुम्रे दुग्ध कृषि सहकारीले गाई तथा भैसी पालक सहकारीमा आवद्ध कृषकहरुलाई दाना,पशु सुत्केरी पोषण खर्च,तथा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने गरेको समेत अध्यक्ष खाडले बताए ।

 

सहकारीका व्यवस्थापक गोपाल जि.सीले सहकारीले पहिले दुध उत्पादन गर्ने कृषकहरु मात्र आवद्ध गरेकोमा अब वंगुरपालन, बाख्रापालन, तरकारी खेती गर्ने किसानहरुलाई पनि आवद्ध गराउन उदेश्यले अघि बढेको बताए । हाल यो सहकारीमा तीन सय १० जना सेयर सदस्यले विभिन्न स्थानहरुमा रहेका दुध विक्री केन्द्र तथा सहकारीमा गरी १५ जना कर्मचारी कार्यरत रहेका छन् ।

 

विभिन्न सहकारीमार्फत दैनिक दुई हजार ५ सय लिटर दुध संकलन भईरहेको छ। जसमध्ये एक हजार पाँच सय लिटर पाल्पामै खपत भईरहेको छ भने एक हजार लिटर पोखराको सुजल डेरिमार्फत विक्रि हुने गरेको व्यवस्थापक जि.सीले बताए। सहकारीमा आवद्ध ३० जना कृषकले फर्म दर्ता गरेरै व्यवसाय गरेका छन् । डुम्रे दुग्ध कृषि सहकारीमा रिब्दीकोट, तानसेन, तिनाउलगायतका १० वटा संकलन केन्द्रबाट दुध संकलन हुने गरेको छ ।

उद्घाटन कार्यक्रममा सहकारीका सेयर सदस्य,कृषकहरु,वडा अध्यक्ष,राजनैतिक दल,विधालयका प्र.अ., विभिन्न सहकारीका पदाधिकारीहरु,जग्गा दाता,कर्मचारी सामाजिक विकास डिभिजन प्रमुख,पत्रकार तथा शुभचिन्तक र स्थानियहरुको उपस्थिति रहेको थियाे। साथै  कार्यक्रममा जिल्लाकै चर्चित नौमती बाजा तथा नृत्य प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया