
काठमाडाैं। आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।
मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो ।
त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहनुभएका छ । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए ।
दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ । काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।
पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।