तानसेन। पछिल्लो समय परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको छ । मंसिरमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने पुरानो चलन गाउँघरबाट हराउँदै गएको हो ।

पछिल्लो समय युवाशक्तिको कमी तथा आधुनिक मानिने प्लास्टिकका गुन्द्रको प्रयोग बढेसंगै परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको ग्रामीण भेगका स्थानीयले बताएका छन् ।

पाल्पासहित पहाडी जिल्लाहरुमा पुष र माघ महिनामा बुनेका परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउने र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको थियो । तर, पछिल्लो समय गुन्द्री बुन्ने जनशक्ति नहुने ग्रामीण भेगमा उन्नत जातको धान लगाएपछि छोटो पराल र त्यो पनि गाईवस्तुलाई खुवाउनका लागि नै अपुग हुन थालेसंगै गुन्द्री बुन्ने प्रचलन लोप हुने अवस्थामा पुगेको हो ।

पाल्पाका सबैजसो स्थानीय तहका ग्रामीण भेगमा एक दशक अघिसम्म गुन्द्री बुन्ने प्रचलन रहेपनि हाल सिमित स्थानका नागरिकले मात्रै यसरी गुन्द्री बुन्ने गरेका छन् । अहिले केही मात्रामा यसरी बुननिने गुन्द्रीको प्रयोग हुने गरेको ग्रामीण भेगका स्थानीयले बताएका छन् । जनशक्ति र पराल अभावसंगै लागत पनि धेरै लाग्ने  हुँदा यसतर्फ आर्कषण हुन नसकेको महिलाहरुको भनाई छ।

 

महिलाहरुले बुन्ने गुन्द्रीको प्रयोग गर्नाले न्यानो हुने तथा यसको प्रयोग स्वस्थकर मानिने भएपनि गुन्द्रीको प्रयोग भने हिजोआज घट्दै गएको छ। गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक—दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ।

गाउँ—गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको बगनासकाली ९ की शान्ती न्यौपानेले बताइन् ।

घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले पनि घरमा गुन्द्री बुन्ने चलन घट्दै गएको हो । आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउनुपर्ने पुराना पुस्ताको भनाइ छ।

तपाईको प्रतिक्रिया