काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेकाे सर्वोच्चको आदेश अनुसार  पुनः नागरिकता कायम भएको हाे ।  लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए । त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्राप्त गरेका हुन्।

तपाईको प्रतिक्रिया