पाेखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो ।

विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् ।  उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ ।  पोखरेलीको साथ र सहयोगबाट लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउने  महानगरपादलिकाले जनाएकाे छ ।

पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गरिने जनाएको छ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए ।

मित्रराष्ट्र चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ ।

विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो ।

पोखरा महानगरमा आज बिदा, साँझ दीपावली गरिने

यसैबीच पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया