तानसेन। पाल्पा सदरमुकाम तानसेनमा नयाँ होटल सञ्चालनमा आएको छ । बतासेडाँडामा युवा व्यवसायी विष्णु बहादुर कार्कीले होटल करुवा महल संचालनमा ल्याएका छन् । पर्यटकीय नगरीका रुपमा रहेको तानसेनमा दुई करोड बढीको लगानीमा सुविधा सम्पन्न होटल संचालनमा आएको हो ।
आन्तरिक तथा बाÞह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको संचालक कार्कीले बताए । होटलमा ८ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।
कोठाबाट विभिन्न हिमश्रृखलाहरु देखिने गरी झ्याल र बरण्डा बनाइएको छ । अत्यन्त शान्त र मनोमहक दृश्य अवलोकन गर्न र आमदायी बसोवासको व्यवस्था होटलमा मिलाइएको छ ।
होटलको औपचारिक शुभारम्भ गर्दै होटलको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायण आचार्यले तानसेनमा ठूला लगानीका होटलहरु सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा होटलहरुले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
संघीय सांसद आचार्यले होटलहरु खुल्दै गएपनि तानसेनमा पर्याप्त पर्यटकहरु भित्र्याउन नसकिएको बताए । उनले पर्यटकहरु भित्र्याउन भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन नसकेकाले अब पूर्वाधार निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । सांसद आचार्यले भने तानसेन आफैमा सम्भावना बोकेको शहर भएको हुँदा सम्भावनाहरुको खोजी हुन नसकेको बताए ।
जिल्लामा थुप्रै पर्यटकीय र धार्मिक स्थलहरुको भएपनि तिनीहरुको उचित प्रयोग गर्न हामी सकिरहेका छैनौं, अब ति सम्भावनाहरुको उचित पहिचान गरी काम गर्नुपर्छ ।’ तानसेनको पर्यटन व्यवसायीको विकासमा आफुले सक्दो पहल गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पामा ठूला लगानीका होटलहरु सञ्चालनमा आएपनि तिनीहरुलाई टिकाई राख्न पर्यटन क्षेत्रको विकास गर्न नसकिएको बताए । अध्यक्ष भट्टराईले पाल्पाको पर्यटन विकासका लागि आफुहरु स्थानीय सरकारसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।
उनले पोखरा जाने पर्यटकहरुलाई तानसेनमै ल्याउने वातावरण सिर्जना गर्न सकिएको खण्डामा यहाँका होटलहरुको व्यवसायी विकास गर्न सकिनेमा जोड दिए ।
होटलमा स्वच्छ खानाको साथै सत्कारसहितको सेवा दिइने होटल सञ्चालक कार्कीले बताए । उनले होटलमा आउने नियमित ग्राहकका लागि सहुलियत कार्डको व्यवस्था गरिने बताए । कार्ड पाउने ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने छन् । यहाँ पुस महिनाभर आउने ग्राहकका लागि चिया निःशुल्क हुनेछ ।
होटलमा चाइनिज, इन्डियन र नेपाली अर्गानीक खाजा, खानाको व्यवस्था समेत रहेको छ । सञ्चालक कार्कीका अनुसार विगतमा सहज यात्राका लागि प्रयोग गरिने घोडाको समेत व्यवस्था गर्ने गरी काम अगाडि बढेको छ । यहाँ आउने पर्यटकहरुका लागि भैरवस्थान, रानीमहल, श्रीनगर जस्ता पर्यटकीय स्थलहरुमा जान चाहनेहरुका लागि घोडाको व्यवस्था मिलाइने कार्कीले बताए ।
उनले तानसेनको पर्यटन विकास र विदेश जाने युवाहरुलाई रोजगार सिर्जना गर्ने उद्देश्यले होटल सञ्चालन गरिएको बताए । रोजगारीका अवसर सिर्जना गर्न र पर्यटनको विकास गर्न होटलले महत्वपूर्ण भूमिका खेल्नेमा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले विश्वास व्यक्त गरे ।