रामपुर नगरपालिकाकाे नगर सभा तथा १२ औं अधिवेशन सुरू

पाल्पा। रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको विहिबारदेखि सुरु भएको छ । अधिवेशनको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले उट्घाटन गरे।

सभामा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, प्रवक्ता कपिल बहादुर खाँण, वडाअध्यक्ष, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो । नगर सभामा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नगरपालिकाले ६ महिना भित्र गरेको कार्य सम्पादन, योजना तथा कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए।

उनले  कुल बजेट ६५ करोड २७ लाख ५० हजार ९ सय मध्ये हालसम्म २७ करोड ४७ लाख ९५ हजार ६ सय प्राप्त भएको जानकारी दिदै हाल सम्म २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताए।

न्यौपानेले विषयगत शाखा तथा वडा कार्यालयको प्रगति विवरण पेश गर्दै हालसम्म नगर भित्रका ५ सय ५४ योजना मध्ये १ सय ५८ को लागत अनुमान भएको र ५२ योजनाको सम्झौता सम्पन्न भएको जानकारी दिए।

त्यस्तै नगर सभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७९ पारित गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक दिल बहादुर रानाले पेश गरेकाे विद्येयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

रामपुर नगरपालिकाको नगर सभा आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै समापन गरिएको हो । नगर सभा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा चलेको थियो ।

तपाईको प्रतिक्रिया