लुम्बिनीमा २७ पुस भित्रै सरकार निर्माणका लागि आह्वान

बुटवल। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधबार ४ बजेसम्मको समय दिएर दलहरूलाई सरकार गठनमा दाबी पेस गर्न आह्वान गरेका छन् । सरकार गठनका लागि आह्वान भएसँगै एमाले, माओवादी र कांग्रेस सरकारको नेतृत्व लिन अग्रसर देखिएका छन् ।

कांग्रेसले साना दललाई सभामुख र प्रभावशाली मन्त्रालय प्रस्ताव गर्दै छलफललाई तीव्रता दिएको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी आफैं छलफलमा जुटेका छन् ।

लुम्बिनी प्रदेशमा कुनै दलको एकल बहुमत छैन । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २७ गतेभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको जानकारी दिएका छन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलसँग ५२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीमा प्रदेशको ठूलो दल एमालेले दाबी गर्दै आएको छ । एमाले एक्लैले २९ सिट जितेको छ । माओवादीले ९ सिट जितेको छ । गठबन्धनका राप्रपा र नागरिक उन्मुक्तिको पक्षमा ४/४ सांसद र जनमत, जसपा र लोसपाको पक्षमा ३/३ सांसद छन् । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको १/१ सिट छ । माओवादीनिकट ३ जनाले स्वतन्त्रबाट जितेका छन् । तीमध्ये एक जना माओवादीमा प्रवेश पनि गरिसकेका छन् ।

नागरिक उन्मुक्ति, लोसपा, नेकपा एस र जनमोर्चाले अझै कसलाई समर्थन गर्ने भन्ने टुंगो लगाएका छैनन् । नागरिक उन्मुक्तिले पनि आफ्ना माग सम्बोधन भए सत्ता गठबन्धनलाई समर्थन गर्न सक्ने संकेत गरेको छ । सत्ता गठबन्धनको ठूलो दल भएकाले एमालेबाट संसदीय दलको नेता चुनिएका एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ । माओवादी संसदीय दलका नेता एवं स्थायी कमिटी सदस्य जोखबहादुर महराले पनि पार्टीमा दाबी छोडेका छैनन् । उनले मुख्यमन्त्रीको लबिइङ गर्दै काठमाडौंमा पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटिसकेका छन् । उनकै नेतृत्वमा स्वतन्त्र प्रदेशसभा सदस्य रोल्पाका दीपेन्द्रकुमार पुन माओवादीमै फर्किएका हुन् । एमाले र माओवादी दुवै दलका नेताले मुख्यमन्त्रीका लागि केन्द्रीय अध्यक्षको आदेश कुरिरहेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरेपछि दुवै दलले केन्द्रको निर्णय कुर्दै प्रदेशस्तरमा पनि छलफल सुरु गरेका छन् । एमाले संसदीय दलका नेता गिरीले लुम्बिनीको मुख्यमन्त्री एमालेले नै पाउनुपर्ने बताए । उनले माओवादी र अन्य साना दलसँग पनि सरकार गठनको विषयमा छलफल सुरु गरिएको बताए । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि मुख्यमन्त्री कसले लिने भन्ने टुंगो नलागे पनि सरकार गठनका विषयमा दुवै सम्भावनाका आधारमा अन्य दलसँग अनौपचारिक छलफल अघि बढेको जानकारी दिए ।

प्रदेशसभामा कांग्रेस २७ सदस्यसहित दोस्रो दलको रूपमा छ । दाङका चौधरी कांग्रेस प्रदेश संसदीय दलको नेता बनेका छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेसँगै उनले पनि सरकार गठनमा सक्रियता देखाएका छन् । साना दललाई सभामुख र प्रभावशाली मन्त्रालयको प्रस्ताव गरेर उनी नागरिक उन्मुक्ति, जसपा र जनमतलाई मनाउने प्रयासमा लागेको चौधरीनिकट एक सांसदले बताए । ‘दलको नेता भएकै दिनदेखि उहाँ मसिनो गरी लाग्नुभएको छ,’ ती सांसदले भने, ‘केही सम्भावना देखेरै होला ।’

राप्रपासँग पनि निरन्तर छलफलमा रहेको ती सांसदले बताए । नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आफूहरू कसैसँग छलफलमा नरहेको बताए । उनले अहिलेसम्म आफूहरूको मागका विषयमा कसैको समर्थन वा प्रतिबद्धता नआएकाले कसलाई समर्थन गर्ने भन्ने पनि टुंगो नलागेको र पार्टीले केन्द्रमा जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्ने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया