सेवा प्रवाह चुस्त बनाउन सर्वपक्षीय बैठक, तीन कार्यालय सम्मानित

तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पामा सरोकारवाला तथा जनप्रतिनिधिसंग सर्वपक्षीय बैठक सम्पन्न भएको छ । सरकारको सेवा प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत सुधार गर्न बैठकको आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा भएको बैठकमा पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरू, राजनैतिक दलका नेताहरू, सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा सरकारी कार्यालयका प्रमुखहरूले हालसम्म भएका सेवा प्रवाह तथा कामका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा अधिकांश कार्यालय प्रमुखहरूले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । यस्तै विकास निर्माणका आयोजना पहुँचको भरमा आउने गरेकाले पनि कार्यान्वयनमा समस्या भएको कार्यालय प्रमुखहरुको भनाई छ ।

विकासे काममा सरकारी कार्यालयहरूबीच नै समन्वय कमजोर हुँदा उपलब्धी प्राप्त गर्न समस्या रहेको उनीहरुको भनाई थियो । बैठकमा प्रतिनिधि सभाका क्षेत्र नं. १ का सांसद नारायण प्रसाद आचार्यले सरकारको काम गर्दा परेका आवश्यक नीतिगत समस्या समाधान गर्न आफू तयार रहेको बताए। विकासका आयोजना कार्यान्वयनमा स्थानीय बासिन्दा र मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफू तयार रहेको सांसद आर्चायलको भनाई थियो ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित सदस्य ठाकुर गैरेले विकास निर्माणका काम समयमै सम्पन्न गर्न ध्यान दिनुपर्नेमा जोड दिदैं बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा पारदर्शीता अपनाउन ध्यान दिन आग्रह गरे। प्रदेशसभाका सदस्यहरू वीरबहादुर राना, तुलाराम घर्तीमगर, राजुप्रसाद श्रेष्ठ, खेमबहादुर सारु, इन्द्रा गहतराजलगायतले प्रदेश सरकारको काम प्रभावकारी रुपमा गर्न भूमिका खेल्ने बताए।

दोहोर कर प्रणाली हटाउन, आयोजना दोहोरिन नदिन आवश्यक निती अख्तियार गर्ने जस्ता कार्यमा आफूहरुले काम गर्ने उनीहरुले प्रतिबद्धता समेत जनाए । कार्यक्रममा पाल्पाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले समेत आफूले गरेका काम र आइपरेका समस्याबारेमा जानकारी दिएका थिए ।

बैठक पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतमा सम्पन्न भएको थियो।

उत्कृष्ट तीन कार्यालय पुरस्कृत

यसैबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले उत्कृष्ट कार्यालय प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, उत्कृष्ट कार्यालयको रुपमा घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई सम्मान गरेको छ ।

निर्वाचन भयरहित र निष्पक्ष वातावरण गराउन भूमिका खेल्नुहुने प्रहरी उपरीक्षक शाही र निर्वाचन कार्यालयलाई सम्मान गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। यस्तै बजार अनुगमन प्रभावकारी बनाई खाद्य गुणस्तर कायम गरी उपभोक्ताको अधिकार स्थापित गर्न भूमिका खेलेकोमा घरेलु तथा साना उद्योग कार्यालयलाई सम्मान गरिएको पन्तले बताए।

हरेक महिना उत्कृष्ट कार्यालयलाई कार्यसम्पादनका आधारमा पुरस्कृत तथा सम्मान गरिँदै आएको प्रजिअ पन्तले बताए।

तपाईको प्रतिक्रिया