
तानसेन। पालपा सदरमुकाम तानसेनमा आज एक दिने खाना महोत्सव हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलस्थित टोल विकास संस्थाले सडक खाना महोत्सवको आयोजना गरेको हो। विगतमा कोरोनाले हुन नसकेको महोत्सव अहिले संक्रमणमा कमी आएसंगै पुनः आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
स्थानीय उत्पादन प्रचार र बिक्रीसंगै पर्यटन पर्वद्धनका लागि महोत्सवले टेवा पुग्ने महोत्सवकी संयोजक प्रवीता शाक्यले जानकारी दिइन् । कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन महोत्सवले टेवा पुग्ने विश्वास गरिएको छ ।
महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिने आयोजकले जनाएको छ । महोत्सव स्थानीय कला, संस्कृति, भेषभूषाको जगेर्नामा केन्द्रित रहने बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूह लगायत अन्य सङ्घ संस्थाको पोशाक तथा कला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा खानाका परिकारको ७० स्टल राखिने छ । एक स्टलको १५ सय रुपियाँ शुल्क लाग्नेछ । महोत्सवमा ८ हजारसम्म दर्शकले अवलोन गर्ने तथा २० लाख बढीको कारोबार हुने अपेक्षा आयोजकले गएका छन् ।
महोत्सवमा तानसेन नगरपालिकाले समेत सहयोग गरेको छ ।