तानसेन। पाल्पास्थित बाघखोरमा अलपत्र शीत भण्डार (कोल्ड स्टोर) पुन निर्माण सुरु भएको छ । तानसेन नगरपालिका र भारत सरकारको सहयोगमा निर्माण सुरु भएको कोल्ड स्टोर अलपत्र भएको एक दशकपछि पुन निर्माण सुरु भएको हो ।
पाल्पासंगै छिमेकी जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तु भण्डारण गर्ने उद्देश्ले निर्माण सुरु भएको शीत भण्डार निर्माणमा पुनः बजेट व्यवस्थापन भएपछि निर्माण कम्पनीले पुनः काम सुरु गर्न लागेको हो । वि. स. २०६९ साल फागुन २३ गतेदेखि ठेक्का सम्झौतापछि निर्माण सुरु भएको शीत भण्डार निर्माण नसकिँदै काम छाडेपछि अलपत्र बनेको थियो ।
हालै भारत सरकारबाट शीत भण्डार निर्माणको काम पूरा गर्न बजेट दिने आश्वासनपछि पुनः उक्त संरचनालाई निर्माण गर्न थालिएको हो । तानसेन–७ का वडा अध्यक्ष प्रदीप खनालका अनुसार शीत भण्डार निर्माण सकिएर पुनर्निर्माण गर्नुपर्ने बेलामा फेरी निर्माणको काम सुरु गरिएको हो ।
समयमा रकम भुक्तानी नभएपछि निर्माण व्यवसायीले निर्माण रोकेर काम अलपत्र पारेका र अहिले भारत सरकारका प्रतिनिधिले स्थलगत अवलोकन गरेपछि शीत भण्डार निर्माणको काम अगाडि बढेको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको उक्त शीत भण्डार निर्माणका लागि तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपियाँ लगानी गरेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिए ।
शीत भण्डारको हालसम्म २७ प्रतिशत काम सम्पन्न भएको छ । नगरपालिकाले हालसम्म व्यवसायीलाई दुई करोड १६ लाख रुपियाँ भुक्तानी दिइसकेको छ । रकम दिएपनि ठेकेदारको लापरबाहीले शीत भण्डारको काम समयमै अगाडि बढ्न नसकेको नगरपालिकाको भनाई छ ।
चार रोपनी क्षेत्रफलमा बन्दै गरेको शीत भण्डार सम्पन्न भएको भए दुई सय मेट्रिकटन तरकारी तथा फलफुलजन्य बस्तु भण्डारण गर्ने योजना छ ।