
काठमाडौं।नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् ।
दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।