रेसुङ्गामा ५ नयाँ प्रजातिका चराहरु फेला

तानसेन। गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप ५ प्रजातिका चरा फेला परेका छन् । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।

जसअनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए ।

रेसुङ्गा क्षेत्रमा नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा मात्र पाइने चराहरुको संख्या २५८ पुगेको छ । यस अघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् ।

रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरेको छ ।

पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ । रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताए।

दुर्लभ चरा भेटिएपनि बासस्थानमा जलवायु परिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको छ । रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ ।

यी क्षेत्रमा विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

रेसुङ्गा धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधताको भण्डार, जलाधार क्षेत्र, वैज्ञानिक महत्व राख्ने गुल्मीको पहिचान बोकेको स्थान हो ।

तपाईको प्रतिक्रिया