तानसेन। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक चरणको काम सुरु भएको छ । सुरुङ मार्ग निर्माणका लागि आजदेखि दैनिक ८ घण्टा सडक बन्द गरेर काम सुरु गरिएको हो ।

सिद्धबाबा क्षेत्रको रामापिथेकस नजिकै सडकको डाइभर्सन निर्माण गर्दाका बेला माथिबाट खुकुलो ढुङ्गा खस्न सक्ने भएकाले सुरक्षित रूपमा काम गर्न सडक बन्द गरी काम सुरु गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । जसका लागि १५ दिनसम्म बिहार र रातिको समयमा काम गर्नका लागि सवारी आवागमन रोकिएको छ ।

बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० देखि ३ बजेसम्म सो राजमार्ग भएर आवागमन गर्ने अत्यावश्यक बाहेकका सवारी साधन बन्द गर्ने निर्णय भएको प्रजिअ पन्तले बताए।

सुरुङ मार्गको डीपीआर स्वीकृतिको अन्तिम चरणमा रहेको हुँदा निर्माण व्यवसायीबाट सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग निर्माण गर्न निर्माण स्थलमा प्रारभ्मिक चरणको काम भइरहेको छ। सुरुङ मार्गको आवश्यक डिजाइन स्वीकृतिको चरणमा रहेको निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ।

कम्पनीका प्रतिनिधि सागर अधिकारीले सुरुङ मार्ग निर्माण स्थलमा बाटो बनाउने तथा अन्य कामका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

सुरुङ मार्ग निर्माण ५ बर्षमा सक्ने लक्ष्य रहेकोमा करिव एक् वर्ष बितिसकेको आयोजनाले जनाएको छ । लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्ग बनाउनुपर्ने माग गर्दै आएका थिए।

यो क्षेत्रमा हिउँद र वर्षामा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौँ यात्रुले ज्यान गुमाउँदै आउनुका साथै घाइते हुनुपर्ने बााध्यता रहेको छ।

सुरुङ मार्ग बनेपछि पाल्पासहित रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए । सुरुङ मार्ग सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया