पाल्पा । रामपुर नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको  पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभावकारी नभएको बताए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको सही सदुपयोग हुन नसकेको बताउँदै परिमार्जन गर्न आवश्यक रहेको औँल्याए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम आय आर्जनमुलक र सिपमुलक हुनु पर्ने नगर प्रमुख थापाले बताए।

संघीय सरकारबाट आएको बजेट मार्फत संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारसंग समन्वय र लागत सहभागिताका अाधारमा संचालन गर्ने गरी दिर्घकालिन योजना बनाएर अगाडी बढ्न सके  बढि प्रभावकारी हुने उल्लेख प्रमुख थापाले बताए ।

साे अवसरमा नगर भित्रका हरेक वडाले बेराेजगार सूचिमा सुचिकृत भएका बेरोजगार युवाहरुको सहभागितामा उत्कृष्ट काम गर्न थापाले आग्रह गरे।  यस्तै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्दा यसको प्रभावकारीताका लागि वडा अध्यक्ष र वडा सचिवको मुख्य भूमिका हुने भएकाले सही योजना र जनशक्ति छनौट गर्नु पर्ने बताइन्।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन , रोजगार सम्बन्धि संवैधानिक व्यवस्था , रोजगारीको अवस्था , आयोजना छनौटलगायतका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा रामपुर नगरपालिका भित्रका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको स्वागत र सुचना प्रविधि शाखा प्रमुख महेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया