काठमाडौं। नेपाल आयल निगमले इन्धनको भाउ हाललाई यथावत् राख्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
बुधबार मात्रै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो । तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ ।
अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।
अन्तर्राष्ट्रिय बजारबाट बढेर आएको मूल्य तत्काल वृद्धि नर्गन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशित गरेपश्चात निगमले तत्काल मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ।
आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यान राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका थिए ।