श्री एयरको उडान प्रतिबन्ध फुकुवा

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरको उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। श्री एयरले शुक्रबार विज्ञप्ति जारी गर्दै पुनः सेवा सञ्चालनका लागि अनुमति प्राप्त भएको जनाएको छ।

‘विज्ञहरूको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकाले पुनः सेवा सञ्चालन गर्न अनुमति प्रदान भएको छ,’ श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

श्री एयरले हवाई सुरक्षाका लागि सबै मापदण्ड पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

बिहीबार श्री एयरको काठमाडौं–भैरहवा उडानमा रहेको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि तत्कालै काठमाडौंमा आकस्मिक अवतरण गराइएको थियो। यही विषयलाई लिएर प्राधिकरणले जहाजको उडानयोग्य परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको थियो। श्रीका ८ वटै जहाज शुक्रबार ग्राउन्डेड भएका थिए।

परीक्षणमा केही खराबी नदेखिएपछि प्राधिकरणले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer