सिन्धुली । ओखलढुङगाबाट काठमाण्डौतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घट्ना हुँदा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
ओखलढुङगाबाट काठमाण्डौतर्फ आइरहेको बा २ ख ६५९६ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घट्ना हुँदा ६ जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए।
दाहालका अनुसार राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घट्ना हुँदा २ महिला १ बालिका र तीन जना पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये २२ जना खुर्कोटस्थित शुभजिवन अस्पताल तथा खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई दुर्घट्नास्थलबाट खुर्कोटतर्फ ल्याउने काम भइरहेको स्थानियले जनाएका छन् ।
बसका चालक सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । बस भित्तामा ठोक्किएकाले बसको देब्रे साइडका यात्रुको मृत्यु भएको स्थानिय गंगाराम पहाडीले बताए ।
भित्तामा बस ठोक्किएर यात्रु चापिएपछि फिक्कल गाँउपालिकाको जेसीभी मेसिनले बस तानेर मृतकका शब तथा घाइतेलाई निकालिएको थियो ।
घट्नाको थप विवरण आउन बाकी रहेको र पारम्भिक जानकारी अनुसार बस आफै अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।