काठमाडौं । बैंक सञ्चालकहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले बैंक विरोधी गतिविधि बढेको भन्दै सरकारसँग बैंकिङ क्षेत्रलाई सुरक्षा दिन माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले मंगलबार हेटौंडामा बैंकहरु बन्द गराउन गरिएको संस्थागत धम्कीप्रति खेद प्रकट समेत गरेको छ ।

हेटौंडामा कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट बञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरु भएको सीबीफीनका सचिव कुशप्रसाद मल्लीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा सम्वादको माध्यमबाट पहिल्याउन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सबै मान्यता भुलेर बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकिनु पर्छ । र वार्ता तथा सम्वादको प्रक्रियामार्फत समस्या समाधान गरिनु पर्छ ।’

 

सीबीफीनले वार्तामार्फत समस्या समाधानका लागि अग्रसरता लिन सरकार, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई आग्रह समेत गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको धरपकड र जबरजस्ती तत्काल रोक्न पनि संघले सरोकारवालासँग माग गरेको छ ।

विश्वव्यापीरुपमा देखापरेका विविध परिघटनाहरुको कारण नेपालको अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरण र स्वयं नेपाल सरकार, आम उद्यमरव्यवसाय र सर्वसाधारण समेतले वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट हुनु पर्ने पनि संघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुनेरनपाइने कुरालाई आत्मसाथ गरिदिन पनि संघले माग गरेको छ ।

तपाईको प्रतिक्रिया