तानसेन। पाल्पा सदरमुकाम तानसेनको गहना मानिने, सित्तलपाटी, मुलढोका र दरबार परिसरका सडक छेउका संरचना हटाउन स्थानीय सरकारले चासो दिएको छ ।
तानसेन नगरपालिकाको गत सोमबार बसेको कार्यापालिकाको बैठकले शितलपाटी, मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको हो । तानसने नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार नगर कार्यापालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय भएको हो ।
ऐतिहासिक शहर तानसेनका सौन्धर्यकरणका लागि पुरातत्व विभागले गत माघ १० गते संरचना हटाउन नगरपालिकालाई पत्रसमैत लेखेको थियो ।
पत्रमार्फत अव्यवस्थित शहरीकरणको कारणले दरबारको मौलिक स्वरूपलाई प्रतिकूल असर पर्ने गरि दरबारको पर्खालमा जोडेर नयाँ संरचनाहरू बनेकोले तत्काल हटाइ दरबारको मौलिक स्वरूप कायम गर्न तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजीकरणको अनुरोध गरेको बताइएको छ ।
यी संरचना हट्नेछन्ः
तानसेन नगरपालिका वडा नं.४ मा तानसेन नगरपालिकाको आफ्नै नाममा रहेको १३ वटा घरटहरा हटाइने तानसेन नगरपालिकाले जनाएको छ । यस्तै घरेलु शिल्पकलाको १३, नेपाल रेडक्रस सोसाइटीको नाममा रहेका ३, कर्मचारी मिलन केन्द्रको ३, बालसंगठनको १ तथा वि.स.२००२ देखि २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा हटाउन लागिएको हो ।
नगर कार्यपालिकाको बैठकले नगरपालिकासँग सटर वहाल सम्बन्धी गरिएको सम्झौता रद्द गर्ने, अन्य संघसंस्था वा सरकारी निकायहरुलाई सटरमा रहेका वहालवालाहरुलाई हटाउन पत्राचार गर्ने समेत निर्णय गरेको छ ।
विश्व सम्पदा सूचीमा तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालयलाई राख्ने योजनासहित बजेट विनियोजन तथा विकासको योजना अगाडी सारिएको तानसेन नगरपालिकाले जनाएको छ।