आरम्भ चौतारी लघुवित्तमा नेकपा (बहुमत) पाल्पाले गर्यो तालाबन्दी

तानसेन। पाल्पाको माथागढी गाउँपालिकास्थित झडेवामा रहेको आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि.मा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को न्याय विभागले तालाबन्दी गरेको छ ।

नेकपा (बहुमत) केन्द्रीय समितिको निर्णयअनुसार लाताबन्दी गरिएको सो पार्टीले जनाएको छ । उक्त पार्टीको लुम्बिनी प्रदेश ब्युरो मातहतका जिल्लाका जनतामारा लघुवित्तमा तालाबन्दी गर्ने क्रममा पाल्पाको आरम्भ लघुवित्तमा तालाबन्दी गरिएको पार्टीले जनाएको छ ।

पार्टीले ‘आरम्भ चौतारी लघुवित्त संस्थामा तालाबन्दी किन ?’ शीर्षकमा ब्यानर पनि टाँसेको छ ।

उक्त ब्यानरमा निम्न बुँदाहरु उल्लेख गरिएको छ:
१)
दलित, गरिब, उत्पीडित महिला दिदीबहिनीहरूसित चर्को मिटरब्याज र अनावश्यक हर्जना असुल गरेकाले ।
२) समूहका महिला दिदीबहिनीहरूलाई मानसिक यातना दिई आत्महत्याका लागि दुरुत्साहन गरेकाले ।
३) महिला दिदीबहिनीलाई गालीबेइज्जती र अभद्र व्यवहार गरेकाले ।
४) समूहका महिला दिदीबहिनीहरूको भौतिक सामान लुटपाट गर्नेलगायत आतङ्क मच्चाएकाले तालाबन्दी गरिएको उल्लेख छ ।

नेकपा (बहुमत) पाल्पाले जनताको सम्पत्ति फिर्ता गर्न, पीडितहरूको ऋण मिनाहा गरी लघुवित्तीय संस्था नै खारेज गर्न मागसमेत गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया