काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएको बधाई दिएका छन् ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत बधाई दिदै उच्च कौशल प्रदर्शन गर्दै नेपाललाई विजयी गराएर देशको स्वाभिमान र गौरव राख्न सफल भएको भन्दै क्रिकेट टिमको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिम, प्रशिक्षक र नेपाल क्रिकेट सङ्घ क्यानलाई समेत बधाई दिएका छन् ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त व्यक्त गर्दै प्रधानमन्त्रीले लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिमलगायतका सबैलाई धन्यवाद पनि दिएका छन् ।
आज बिहान खेल हुनुअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै पुगेर प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई हौसला प्रदान गरेका थिए । युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै नेपालले एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको हो ।