
तानसेन। लामो समयपछि परेको हिरँदे वर्षाले किसानलाई राहत मिलेको छ । असोजको तेस्रो सातादेखि पानी नपरेका कारण हिउँदे खेती लगाउन नपाएका पाल्पाका किसानलाई शुक्रबार वर्षा भएपछि राहत मिलेको हो ।
पहाडी जिल्ला भएका कारण पर्याप्त सिँचाई सुविधा नभएका स्थानमा लगाइएको बालीबाट उब्जनी नहुने चिन्तामा रहेका किसानलाई पानी परेसंगै खुसीयाली छाएको किसानहरुले बताएका छन् ।
पानी परेसंगै खेत, बारीमा मकै छर्न सहज हुनुका साथै फलफूल र तरकारी खेती गर्दै आएका किसानलाई समेत राहत मिलेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । पाल्पामा मुख्य अन्न बालीका रुपमा मकै खेतीलाई लिइदै आएको छ ।
समयमा पानी नपरेर बाझो राखेका खेत बारीमा समेत खनजोत गरी मकै तथा अन्य खेती लगाउन पाउनेमा आफूहरु खुसी भएको किसानले बताएका छन्।
हालसम्म पनि पर्याप्त पानी नपरे पनि स्याहार्ने बेलाको गहुँका लागि केहीसम्म राहत मिलेको किसानले बताएका छन् । यसोसंगै किसानले हिउँदे वालीका रुपमा तोरी, गहुँ, केराउ, मसुरो, फापर जस्ता खेतीका लागि पनि पानीले राम्रो असर पुगेको किसानहरुले बताएका छन् ।
पाल्पा सदरमुकाम आसपासमा आज पानी परेपनि उत्तरी र पश्चिम पाल्पामा बुधबार पनि सामान्य पानी परेको थियो। अहिलेसम्म पनि स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले बदली रहेका कारण पुनः पानी पर्नेमा किसान आशाबादी रहेका छन् ।