
तानसेन। पाल्पाको तानसेन नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो ।
नगरपालिकाका विभिन्न वडामा वितरण गरेको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको परेको किसान दिनेश पाण्डेयले बताए। नगरपालिकाले अनुदानमा वितरण गरेको मकैको बीउ नाथ्रा कुहिएको पाइएको किसानले बताएका छन् । किसानका लागि अनुदानमा वितरण गरिएको बीउ नै कुहिएको पाइएपछि तत्काल छानबिन गर्न किसानले माग गरेका छन् ।
सहुलियतमा वितरण गरेको बीउ नै कुहिएको परेपछि आक्रोशित बनेका किसानले यो बीउबाट ७५ प्रतिशत उम्रन नसक्ने खालको बताएका छन् । तानसेन नगरपालिकाले भने मकैको बीउ शिवगुफा साना किसान सहकारी संस्था लिमिटेड जुगरा–४, रोल्पाबाट आएको जनाएको छ ।
बीउ ढुवानी तथा नगरपालिकालाई उपलब्ध गराउने जिम्मा भने तानसेनस्थित भण्डारी एग्रोभेट सेन्टरले पाएको नगरपालिकाका कृषि शाखाका नायब सहायक प्राविधिक सरोज तिमिल्सिनाले जानकारी दिए ।
नगरपालिकामा सात टन मकैको बीउ ल्याउने जिम्मा तानसेनको भण्डारी एग्रोभेट सेन्टरलाई दिएको थियो । प्रतिकेजी मकैको बीउको १२० रुपियाँ परेको छ । जसमा नगरपालिकाको ६० र किसानको ६० रुपियाँ परेको छ ।
केही किसानले मकैको बीउ वितरणमा तानसेनकै सप्लायर्सले बदमासी गरेको हुन सक्ने बताएका छन् । छानबिन गरी कुहिएको बीउ फिर्ता गर्ने नगरपालिकाले जनाएको छ ।