
तानसेन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी तत्वबाट मुलुक चल्दा राजनीतिक स्थायित्व कायम हुन नसकेको बताएका छन् । उनले मुलुकमा लोकतन्त्र आएदेखि नै विदेशी शक्तिको इसरामा सरकार बन्ने र ढल्ने हुँदा देश विकास हुन नसकेको बताए ।
मंगलबार नेकपा एमाले पाल्पाले तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि सरकारले पुरा कार्यकाल काम गर्ने वातावरण सृजना नहुँदा मुलुक समृद्ध हुन नसकेको बताएका हन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू पुनः प्रधानमन्त्री हुने लोभमा नरहेको हुँदा देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर नभएको बताए । वर्तमान सरकारले देशको सीमा मिचिदासमेत बोल्न नसकेको आरोप अध्यक्ष ओलीले लगाए ।
अध्यक्ष ओलीले देशमा अब स्थिरता ल्याउन एमालेले बहुमत ल्याउनुपर्ने दाबी गरे। एमालेले बहुमत ल्याएको खण्डमा स्थिरता कायम हुने र त्यसपछि विकास निर्माणले र समृद्धिले गति लिने अध्यक्ष ओलीले बताए।
अध्यक्ष ओलीले देश अहिले अर्थतन्त्रको सङ्कटमा रहेपनि त्यसलाई सुधार गर्नतर्फ सरकार गम्भीर नभएको बताए। गठबन्धन भित्रका दलबाट देशको विकास नहुँने बताउँदै अध्यक्ष ओलीले देशको विकासका लागि एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखे । आफू प्रधानमन्त्री भएको समयमा पूर्व पश्चिम राजमार्ग र रेलमार्ग विस्तार तराईमा हुलाकी राजमार्गको काम सुरु भएको जनाउँदै अरुले २० वर्षमा गर्न नसकेको काम गरेको दाबी गरे ।
सो बखत नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, एमाले विदेश विभाग प्रमुख राजन भट्टराई, पोलिटव्यूरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराईलगायतले एमालेकाे ‘मिसन ग्रास रुट’ अभियानका बारेमा सम्बोधन गरेका थिए ।