‘स्वास्थ्य मापदण्ड अपनाऔं र बुस्टर खोप लगाऔं’

काठमाडौं। कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थय मापदण्डको पालनामा जोड दिन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिडसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको मन्त्रालयले जनाएको छ । बुधबार कुल १ हजार ३३० जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको थियो । त्यसैगरी मंगलबार १ हजार ४२९ जनाको परीक्षणमा २४ जनामा संक्रमण देखिएकोमा सोमबार १ हजार २६६ को परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसैबीच मन्त्रालयले दैनिक संक्रमित फैलिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा जोड दिई बुस्टर जोड खोप लगाउन सबैमा अनुरोध गरेको छ । भारतमा संक्रमण बढ्न थालेसँगै त्यसको संकेत नेपालमा पनि देखिएको विज्ञहरु बताउँछन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार १६ नयाँ केशहरु पुष्टि भएका छन् । यो ६ महिनायता दैनिकरुपमा पुष्टि हुने संख्यामा सबैभन्दा हो । त्यसैगरी सक्रिय संक्रमितको संख्या १३ हजार ५०९ पुगेको छ । बुधबार २ हजार १५१ मा संक्रमण देखिएको थियो । महाराष्ट्र, दिल्ली, हिमान्चल प्रदेश, केरलामा संक्रमण बढिरहेको देखिन्छ ।

सरकारले गरेको पछिल्लो जीन सिकेन्विसङमा नेपालमा १७ वटा ओमिक्रोनका सवभेरिएन्ट देखिएको जनाएको थियो । हाल नेपालमा नयाँ भेरिएन्टको संक्रमण पुष्टि भइसकेको छैन र जीन सिक्वेन्सिङको काम समय–समयमा भइरहेको स्वास्थ्य मन्त्रालय बताउँछ । भारतमा देखिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट पहिलेको ओमिक्रोनका भेरिएन्टहरूको तुलनामा बढी संक्रामक रहेको छ । नेपालमा भने यो भेरिएन्ट पुष्टि भएको छैन ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमण बढिरहेको तथ्यांकबाट देखिएको बताउँछन् । उनले स्वास्थ्यका मापदण्ड अपनाउन र छुटेकाले बुस्टर खोप लगाउन आग्रह गर्दै भन्छन्, ‘निगरानी बढाउने कुरामा सम्बन्धित निकायसँग समन्वय गरी काम अगाडि बढाएका छौँ । संक्रमण रोकथामको लागि हाम्रो व्यवहारको निरन्तरता पनि हो ।’

 

उनले सरकारले खोप कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको बताउँदै अग्रपंक्तिमा रहेको, दीर्घरोगीलगायतलाई बुस्टर खोप लगाउन अनुरोध गर्छन् । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिले बुस्टर खोप लगाउन छुटेकालाई सरकारले खोप दिइरहेको छ । ५५ वर्ष उमेरमाथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले बुस्टर खोप लगाउन सक्ने छन् ।

तपाईको प्रतिक्रिया