तानसेन। पाल्पामा आगामी २०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा व्यापारिक महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव हुने भएको हो ।
१३ औं सस्करणको महोत्सव तानसेन नगरपालिका वडा नं. ७ बाँसटारीमा हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए।
जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताए। यस्तै, पाल्पाको लोपोन्मुख कला संस्कृतिको संरक्षण, कोरोना तथा अन्य कारणले ठप्पजस्तै रहेको व्यापार व्यवसायमा चहलपहल ल्याउन पनि महोत्सवले सहयोग पुग्ने बताइएको छ ।
विगतको तुलनामा फरक स्थानमा महोत्सव सञ्चालन हुने हुँदा स्थानीय स्तरको वस्तुको बजारिकरणमा समेत महोत्सवले टेवा पुग्ने अपेक्षा आयोजक संस्थाले गरेको छ ।
मेलाबाट नाफा भएको रकम जिल्लाको पर्यटन विकास गर्न र सङ्घको गोर्खेकोटमा निर्माणधीन भवन निर्माणका लागि खर्च गर्ने योजना छ ।