घट्यो इन्धनको मूल्य

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०। १० रुपैयाँ तथा पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १।३५० प्रतिकिलोलिटर कायम भएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत् राखिएको छ । पछिल्लो समय भारतबाट मूल्य घटेर आएको र इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र नै शिथिल बन्न थालेपछि आर्थिक चापका बाबजुद निगम मूल्य कटौती गर्ने अवस्थामा पुगेको निगमले जनाएको छ ।

शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।

तपाईको प्रतिक्रिया