रामपुरमा राजस्व सुधार छलफल

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल भएको छ । नगरपालिकाले प्रदेश सुशासन केन्द्र, लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि.को प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यशाला भएको हो ।

कार्यशालामा नगर भित्रको आन्तरिक राजस्व कसरी वृद्धि गर्ने , कुन–कुन क्षेत्रबाट राजस्व संकलन गर्ने, स्थानीय सरकारको वित्तीय स्रोत, करको दायरा नगरपालिकाको आन्तरिक स्रोत वृृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धी व्यापक छलफल भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको बताए ।

यस्तै नगरपालिकामा आवश्यक नीति र कार्यविधि नबन्दा अन्य स्रोतबाट राजस्व संकलन गर्न नसकिएको भन्दै नगर प्रमुख थापाले आगामी दिनमा प्रक्रियागत ढंगबाट करको दायरा बढाउने र आन्तरिक आम्दानीमा वृद्धि गरिने बताए।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक बालकुमारी थापाले लक्ष्य अनुसारको राजस्व नउठेको भन्दै यसका लागि सबै सरोकारवालाहरुको परामर्शमा करको दायरा बढाउन आवश्यक रहेको बताइन् ।

राजस्व सम्बन्धी जानकारी भएमा मात्रै आन्तरिक आम्दानी बढ्ने र आवश्यक योजना सञ्चालन गरी विकासले गति लिने सो कार्यक्रमका सहभागीले बताएका थिए ।

दिगो विकासका लागि आन्तरिक आम्दानी नभई नहुने स्रोत भएको भन्दै ऐन नियम र कार्यविधि बनाएर राजस्व संकलन गर्नु पर्ने, आन्तरिक स्रोतको पहिचान गरी राजस्व संकलन गर्न आवश्यक रहेको सो बखत बताइएको थियो।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले दिगो विकासका लागि आन्तरिक आम्दानी नभई नहुने स्रोत भएको भन्दै ऐन नियम र कार्यविधि बनाएर राजस्व संकलन गर्नु पर्ने बताए । संघबाट आउने अनुदानले मात्र स्थानीय तहको योजना सञ्चालन र विकास सम्भव नभएको भन्दै उनले आन्तरिक स्रोतको पहिचान गरी राजस्व संकलन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा अलाना ईन्टरनेशनल सर्भिसेज प्रालिका कार्यक्रम निर्देशक तथा सहजकर्ता विके महर्जनले स्थानीय तहले आफ्नो सञ्चालन खर्च आफ्नै खर्चले धान्न सक्ने हुनु पर्ने बताए ।

उनले रामपुर नगरपालिकामा आन्तरिक आय वृद्धिका लागि स्रोतको पहिचान गरी कार्यान्वयन गर्न आग्रह गरे । यस्तै सहजकर्ता माण्डुबाबु अधिकारीले स्थानीय तहले राजस्वलाई आधार मानेर योजना तय गर्नु पर्ने बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले न्यायोचित र समतमूलक ढंगले करको दायरा निर्धारण हुन आवश्यक रहेको भन्दै कर तिर्ने उचित वातावरण सिर्जना गर्न आग्रह गरे । उनले आन्तरिक राजस्व बृद्धिका लागि बनाईएका नीति तथा कार्यविधिको सहि कार्यान्वयन गर्नु पर्ने बताए ।

कार्यशालामा आन्तरिक राजस्व प्रतिको बुझाई, आम्दानी कम हुनुका कारण, स्थानीय तहको वित्तीय स्रोत, राजस्व लक्ष्य र परिचालनको अवस्था लगायतका विषयमा सहजकर्ता विके महर्जन र माण्डुबाबु अधिकारीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा नगरपालिका भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि, उद्योगी व्यवसायी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया