लम्पी स्किन रोगबाट ७ सयबढी गाईगोरुमा संक्रमण, ७० को मृत्यु

तानसेन। पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढेसंगै ७० गाईगोरुको मृत्यु भएको छ । जिल्लामै पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ ।

सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो । पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिका बाहेक अन्य ७ पालिकामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएको छ । चैत १० गते गोठादीका गाईगोरुमा गरिएको परीक्षणबाट यो रोग भएको पुष्टि भएको हो ।

हाल यो रोगको संक्रमणबाट ७० वटा गाईगोरु मरिसकेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । अधिकांश उपचार नपाएका र अशक्त, बुढा गाईगोरु मरेको केन्द्रले जनाएको छ ।

यो रोगबाट ८ सय गाईगोरु संक्रमित भएका छन् । संक्रमित सबै गाईगोरुको उपचार भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका सूचना अधिकारी तथा पशु चिकित्सक डा.नवीन बस्यालले बताए।

बस्यालका अनुसार निस्दी गाउँपालिकामा ९, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकामा १५ र रिब्दीकोट गाउँपालिकाका ४ गाईगोरु मरेका हुन् ।

अहिलेसम्म निस्दी गाउँपालिकाका ६६, बगनासकाली २ सय १५, माथागढी गाउँपालिकामा २ सय १०, रिब्दीकोट गाउँपालिकामा ३२, रैनादेवी छहरा गाउँपालिकामा ४२, तानसेन नगरपालिकामा ३० र तिनाउ गाउँपालिकामा २ सय ५ गाईगोरुमा संक्रमण देखिएको पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

संक्रमण देखिएका सबै गाईगोरुको उपचार गरिएको केन्द्रले जनाएको छ । केन्द्रले सबै पालिकामा दुईरदुई जना प्राविधिक खटाएर उपचारको काम गरिरहेको छ । स्थानीय सरकारसँग समन्वय गरी उपचारको काम भइरहेको डा.बस्यालले बताए ।

उपचारपछि धेरै गाईगोरु निको भएका छन् । अहिले माथागढीमा ९० प्रतिशत रोग नियन्त्रणमा आइसकेको छ, भने अन्यमा फैलिदै गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer