तानसेन। शुक्रबार पाल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बाल्टिनका डुबेर एक जना र फोटो खिच्ने क्रममा खोलामा लडेर १ गरी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका वडा नं. २, हरियाली गाउँका ४५ वर्षीय डम्मरबहादुर खत्रीको शौचालयमा रहेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
श्रीमतीको माइतीमा बस्दै आएका खत्री शौचालयका लागि ट्वाइलेटमा गएपछि धेरै समयसम्म बाहिर ननिस्कएपछि खोजी गर्दा ट्वाइलेटभित्र बाल्टिनको पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै तिनाउ गाउँपालिका–३, भूतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैसवालको मृत्यु भएको सूचना अधिकारी थापाले बताए।
नयाँ वर्षको अवसरमा भूतखोलामा घुम्न पुगेका उनको चिल्पिएर खोलामा खसेपछि उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।