काठमाडाैं। सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

शुक्रबार तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ।

यहाँका  भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा सङ्क्रमण देखिएको छ।

सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।

-रासस

तपाईको प्रतिक्रिया