सुर्खेत । बृद्धाश्रम सहयोग समितिले कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सहयोग गरेको छ ।
ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप, क्षमता युवा पुस्तामा पुर्याउने उद्धेश्यले शुरु भएको बृद्धाश्रम सहयोग समिति र प्रशान्ती बृद्धाश्रमबीच सहयोगको वातावरण बन्दै दुवै समितिबीच समन्वय भएको छ ।
ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाई अब प्रदेशकै अग्रणी संस्थाको रुपमा विकास गरिने सोच रहेको हुँदा सहयोगी हातहरुको आवश्यकता रहेको कुरा बताएका छन् ।
हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने नीति रहेको बृद्धाश्रम सहयोग समितिले यो महिना कर्णालीको प्रशान्ती बृद्धाश्रममा एक लाखको अक्षयकोष स्थापना गरेको हो । ५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवश्यक रहेको जानकारी गराउँदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी अध्यक्ष श्रेष्ठले गराए ।
बृद्धाश्रम सहयोग समिति अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रमहरुमा कम्तीमा पनी एक–एक लाखको अक्षयकोष स्थापना गर्ने उद्धेश्यअनुरुप यस आश्रममा सहयोग गरेको बताइन् ।
वडा अध्यक्ष र पालिकाले दिएको सहयोगबाट रकम जुटिरहेको उनले बताइन् । ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न समेत सक्ने उनले बताइन् ।
हरेकले महिनामा १० रुपैयाँमात्र भएपनी ज्येष्ठ नागरिकको क्षेत्रमा सहयोग गर्न उनले अनुरोध गरिन् ।