
पाल्पा । जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा पाल्पा महोत्सव सुरु भएको छ ।
पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको बिहीवार नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका हुन् । महोत्सव वैशाख २४ गतेसम्म चल्नेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले कोरोना तथा विश्व अर्थतन्त्रका कारण व्यापार व्यवसाय क्षेत्र धरासायी बनेको बताउँदै सरकारले निजी क्षेत्रको मर्कालाई बुझेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य खेमबहादुर सारु, राजुप्रसाद श्रेष्ठ, इन्द्रा गहतराज, पूर्व मन्त्री सोमप्रसाद पाण्डेय, पूर्वसांसद यादवबहादुर रायमाझी, लिला सोमैलगायतले व्यापार महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका थिए ।
महोत्सवले पाल्पाको आर्थिकसँगै पर्यटकीय विकासमा समेत टेवा पुग्ने विश्वास रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराईले बताए ।
महोत्सवमा जिल्लाबाट उत्पादित वस्तु एवं सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी राखिएको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले बताए । महोत्सवमा ३ सय स्टल रहेका छन् ।
१३ औं संस्करणका रुपमा सुरु भएको महोत्सवमा ३ लाख बढी अवलोककर्ता आउने विश्वास लिइएको छ । महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोवार हुने विश्वास पाल्पा उद्योग वाणिज्य संघको छ ।
महोत्सवमा हरेक दिनजसो राष्ट्रिय ख्यातीप्राप्त एवं स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ । टुँडिखेलको दुबो जोगाउँदै महोत्सव गरिएको हो ।