
पाल्पा । जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा बिहीवारदेखि सुरु भएको ‘पाल्पा महोत्सव’मा शुक्रवार (आज) चर्चित लोकगायक राजु परियार दर्शकहरुको मुख्य आकर्षणका रुपमा रहने भएका छन् ।
बिहीवार रिब्दीकोट –७ स्थित कालिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा पुगेर सांगीतिक प्रस्तुति दिएका गायक राजुले शुक्रवार तानसेनको टुँडिखेलमा दर्शकहरुलाई नचाउने भएका हुन् ।
महोत्सवको दोस्रो दिनको मुख्य आकर्षणकारुपमा राजुसहित आधा दर्जन कलाकारहरुको प्रस्तुति रहनेछ । उनीसहित हास्य कलाकार पुरुषोत्तम भण्डारी (पूर्खे बा), गायक मोहन खड्का, केशन भण्डारी, गायिका सपना गाहा, दुर्गा नेपाल लगायतको प्रस्तुति आज रहने भएको हो ।
महोत्सवको पहिलो दिन गायक बसन्त लम्साल, गायिका अनु राना लगायतको प्रस्तुति रहेको थियो ।
पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको महोत्सव वैशाख २४ गतेसम्म संचालन हुनेछ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुका साथमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने भएको छ ।
यद्यपि, यसपटक उद्योग वाणिज्य संघले पाल्पामा जन्मिएर कला क्षेत्रमा स्थापित एवं स्थानिय स्तरका कलाकारहरुलाई बढी प्राथमिकता दिएको छ ।
