तानसेन । पाल्पा सदरमुकाम तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा शनिवार दर्शकको घुइँचो लाग्यो ।
तेस्रो दिन सार्वजनिक विदा परेकाले पनि महोत्सवस्थल टुँडिखेल भीडभाड रह्यो । स्टेजदेखि स्टल, बालउद्यान सबैतिर दर्शकहरु खचाखच देखिए ।
महोत्सव प्रचारप्रसार उपसमिति संयोजक बिदुर घिमिरेले शनिवार एकैदिन १० हजार टिकट बिक्री भएको नयाँधारलाई जानकारी दिए ।
‘शनिवार देखिएको दर्शकहरुको उपस्थितिलाई लिएर हामी एकदमै उत्साहित छौं’ उनले भने ।
शनिवार संगीतप्रेमी दर्शकहरुका लागि आकर्षणको रुपमा गायक शिव परियार थिए ।
उनले आफ्ना ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथिले’देखि ‘धोकेबाज हौ तिमी’सम्मका झण्डै एक दर्जन चर्चित गीत प्रस्तुति गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
पाल्पा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव २४ वैशाखसम्म चल्नेछ । आउँदा दिनमा पनि दर्शकहरुको उत्साहजनक सहभागिता महोत्सवमा हुने विश्वास उद्योग वाणिज्य संघले लिएको छ ।
महोसवमा आइतवार चर्चित गायक खेम सेञ्चुरी, शिरीष देवकोटा लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले जानकारी दिए ।
तस्वीर सौजन्य : बिराट पहारी