
तानसेन । लोकप्रिय गायक पुस्कल शर्माले वैशाख २४ गते गृहजिल्ला पाल्पामा दर्शक नचाउने भएका छन् ।
तानसेनको टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा अन्तिम दिन यि लोकप्रिय गायकको सांगीतिक प्रस्तुति दर्शकहरुले प्रत्यक्ष हेर्न र सुन्न पाउने भएका हुन् ।
आयोजकले पुस्कललाई आज (सोमवार) मात्रै कार्यक्रमका लागि फाइनल गरेको हो । उनको प्रस्तुतिलाई लिएर यहाँका दर्शक एवं फ्यानहरुले निकै चासो ब्यक्त गरिरहेका थिए ।
‘यहि वैशाख २४ गते म पाल्पा महोत्सव तानसेन आउँदै छु । सबैलाई चुलै निम्तो छ है’ पुस्कलले दर्शकलाई निमन्त्रणा गर्दै भनेका छन् –‘आफू जन्मेको ठाऊँ, आफू हुर्केको ठाऊँ र आफूलाई माया गर्ने भगवानरूपी दर्शकप्रति म सधै आभारी छु ।’
पुस्कल देश विदेशका स्टेज कार्यक्रममा निकै खोजिने ‘डिमाण्डेड गायक’मा पर्छन् । उनको प्रस्तुति हेर्न हरेक कार्यक्रममा दर्शकहरुको भीड लाग्ने गरेको छ ।
पाल्पा महोत्सवमा पुस्कलले आफ्ना हिट गीतहरु दर्शकसामु पेस गर्नेछन् । ‘मुटु जलाई जलाई’, ‘हो भन निरमाया आउँछौ आउँदैनौं’ जस्ता हिट प्रेम विरहका गीत महोत्सवमा दर्शकले प्रत्येक्ष हेर्न र सुन्न पाउनेछन् ।
आफ्नो हिट पञ्चेवाजा गीत ‘पाल्पाली मायाले’देखि ‘तिम्रो थर मेरो थर’जस्तो प्रेमगीतमा पुस्कलले दर्शकलाई नचाउनेछन् ।
पाल्पा उद्योग वाणिज्य संघले झण्डै ५ वर्षपछि टुँडिखेलमा महोत्सव आयोजना गरेको हो ।
महोत्सव वैशाख १४ गतेदेखि सुरु भएको हो ।
